ब्राजिलियन नागरिकको पेटमा भेटियो १ किलो ४५५ ग्राम कोकिन, ४ करोड पर्छ मूल्य

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ४५५ ग्रामसहित २ जना ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लारिसनलाई ८४० ग्राम र फर्नान्डालाई ५५० ग्राम अवैध लागूऔषध कोकिनसहित पक्राउ गरेको हो । अनुसन्धानको क्रममा दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाई नेपाल ल्याएको खुल्न आएको छ ।

उनीहरूको पेटमा थप क्याप्सुलहरू हुन सक्ने देखिएकाले तत्काल दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६ वटा प्लाष्टिकले र्‍यासपिङ गरिएका क्याप्सुलभित्र कोकिन ६५ ग्राम बरामद भएको छ । बरामद गरिएको अवैध लागूऔषध कोकिनको अवैध बजार मुल्य ४ करोड ३६ लाख ५० हजार रूपैयाँ हुन आउने ब्यूरोले जनाएको छ ।

आरोपीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...