सुरक्षा चेकजाँच हुँदा माइक्रो अनियन्त्रित, ४ यात्रु गम्भीर घाइते

काठमाडौं । ट्राफिक चेकजाँच हुँदा चितवनमा माइक्रो अनियन्त्रित भएर ८ जना घाइते भएका छन् ।

बिहीबार बिहान भएको दुर्घटनामा ४ यात्रु गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–१ रामनगरमा दुर्घटना भएको हो । रामनगरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि सुरक्षा जाँच भइरहँदा बिहान ५ बजे दुर्घटना भएको थियो ।

यात्रु बस जाँच गर्न प्रहरीले रोकेको बेला ग२ख २२५ नम्बरको माइक्रोले बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । बसलाई ठक्कर दिएपछि माइक्रो थप अनियन्त्रित भएर कमला न्यौपानेको घरमा सञ्चालित ग्यारेजमा ठोक्किएको थियो ।

दुर्घटनाका घाइतेहरूको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...