करीब २७ किलो गाँजासहित ७ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट करीब २७ किलो गाँजासहित ७ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलास गाउँपालिका–१० नामटार घर भई हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया शर्मिला भोलन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–१२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङ्जा घर भई पोखरा महानगरपालिका–९ नागढुंगा बस्ने २० वर्षीय सागर नेपालीलाई अवैध लागूऔषध गाँजा करीब ३ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले दिपेशको घरमा लुकाइछिपाई राखेको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बदेलपोखरीबाट अवैध लागूऔषध गाँजा करीब १ किलो ५०० ग्रामसहित पाल्पाको रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ६१८४ नम्बरको पिकअप जीपलाई जाँच गर्ने क्रममा गाँजा फेला पारी जीपमा सवार व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

बरामद गाँजा सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...