नेकपामा ५ दिनभित्र के हुँदैछ चमत्कार ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन् ।

पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधवारबाट शुरू भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिँदै नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे ।

‘म कसैप्रति आरोप लगाइरहेको छैन । अस्ति पत्रकार सम्मेलन भयो । मैले कुनै जवाफ पनि दिइनँ । तपाईं देखिरहनुभएको छ, अरू साथीहरू बोलिरहनु भएको छ । म चुप लागेर बसेको छु । त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ । कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ । मैले त्यसको कुनै जवाफ दिएको छैन । म के भन्न चाहन्छु भने पार्टी फुट्दैन र फुटाउन कसैले सक्दा पनि सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलि १ भनेर गन्न शुरू गर्नुहोला ।’

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधवारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए । अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन् ।

महासचिव विष्णु पौडेलले बुधवारै अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेट गरेका थिए । उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए । शंकर पोखरेल, जनार्दन शर्मालगायत नेताहरूले दुवै अध्यक्षसँगको छलफल बाक्लो बनाएका छन् । उनीहरूका छलफलबारे केही नखुले पनि प्रधानमन्त्रीले अबको ५ दिनमा ‘सिनारियो नयाँ देखिने’ बताएपछि छलफल सकारात्मक रहेको अनुमान लगाउन थालिएको छ ।

ओलीले आफू तत्कालीन एमालेको बहुमतबाट निर्वाचित अध्यक्ष भएको र पार्टीमा तत्कालीन २ पार्टीका अध्यक्ष महाधिवेशनसम्मका लागि अध्यक्ष रहने गरी व्यवस्था गरिएको प्रस्ट पारे । उनले ५ वर्ष सरकार पनि यही निरन्तर रहने बताए ।

‘हामीबीच प्रतिबद्धता थिए । हामीले बीचमा थप केही सम्झौताहरू गर्‍यौं । सहमतिहरू थप गर्‍यौं, बनायौं । मेरो तर्फबाट कुनै माग छैन । जो थप सहमतिहरू भए ती प्रचण्डजीले नै भन्नुभएकोले भएका सहमतिहरू हुन् । मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन । त्यो उहाँले पनि पटक–पटक भन्नुभएको छ । हामीले के भन्यौं भने ५ वर्ष नै यो सरकार रहन जरुरी छ,’ प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भने, ‘अहिले सरकारको निरन्तरता चाहियो । स्थायित्व चाहियो । जनताको आकांक्षा पनि त्यही छ । कहिल्यै ५ वर्ष सरकार टिकेन । टिक्न दिइएन । यो खालका प्रवृत्तिहरू उठ्न, झांगिन दिनु हुँदैन र सफल हुन दिनु हुँदैन ।’

प्रधानमन्त्री भएर पनि गुट चलाउने भन्ने प्रश्नमा ओलीले भने, ‘म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो ? गएको चुनावमा एउटा गुट चलाएको देख्नुभयो कि मेचीकाली अभियान चलाएको देख्नुभयो ? मेचीकाली जनसागर उर्लेको देख्नुभएन ? देश ड्राइभ गर्न हिँडेको मान्छे सानो गुट चलाएको देख्नुभयो ? म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ । अध्यक्ष पनि लडेर भएको हुँ । मभन्दा अघि त लड्ने चलन थिएन नि !’ ६५ वर्षकै उमेरमा आफूले राजनीतिबाट सन्यास लिन खोजे पनि परिस्थितिले नदिएको ओलीको भनाइ छ ।

‘मलाई आफूले बोलेका शब्दबाट पछाडि हट्न आउँदैन । मेरो कठिनाइ त्यो छ । तर मेरा इच्छाहरू कहिलेकाहीँ परिस्थितिले फरक पार्छन्,’ प्रधानमन्त्रीले भने, ‘मैले ६५ वर्षको उमेरमा अवकाश लिन खोजेको थिएँ । तर परिस्थितिले दिएन । मेरा साथीहरूले त्यो इजाजत मलाई दिएनन् । मेरो इच्छा थियो । मैले साथीहरूलाई भनेको हुँ । तर मेरो इच्छालाई साथीहरूले मानेनन् । म अध्यक्ष भइसकेको थिएँ । त्यो अवस्थाबाट छोडेर हेर्दा राम्रो देखिएन ।’

प्रधानमन्त्रीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मका विषय भारतसँग संवादमार्फत तथ्यका आधारमा टुंग्याउने गरी सरकार अगाडि बढिरहेको बताए । उनले भने, ‘संवादबाटै टुग्ंयाउनुपर्छ भन्ने पक्षमा हामी छौं । सम्बन्धलाई सुधार्नुपर्छ । त्यसका लागि वार्ताका माध्यमबाट टुंग्याउनुपर्छ । म तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वार्ताका माध्यमबाट यो टुंगिन्छ ।’

अयोध्या र भगवान् रामका विषयमा आफ्नो अभिव्यक्तिलाई लिएर आत्तिनुपर्ने र आक्रोशित हुनुपर्ने विषय नभएको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले गरिरहेको काममा कुनै भ्रष्टाचार भएको भए जोसकुै भए पनि कारबाही गरेर छोड्ने प्रतिबद्धता जनाए । आफूले सञ्चारमाध्यममा आएका र विभिन्न व्यक्तिहरूले उठाइरहेका प्रश्नहरूको गम्भीरतापूर्वक अध्ययन गरिरहेको र त्यसमा दोषी देखिए कारबाहीको भागीदार बनाइने पनि बताए ।

(अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।)

सम्बन्धित
Loading...