बालिकालाई मध्यराति मामाघरबाट अपहरण गरेर बाँसघारीमा पालैपालो बलात्कार, ३ जना पक्राउ

काठमाडौं । मामाघर आएकी बालिकालाई मध्यराति अपहरण गरेर पालैपालो बलात्कार गरेको घटना महोत्तरीबाट सार्वजनिक भएको छ ।

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति सम्सी गाउँपालिका–१ स्थित घरमा लुटपाट गर्न आएकाहरूले बालिकालाई अपहरण गरेर बलात्कार गरेका थिए । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारतको बिहार सितामढी रतनपुर–१५ का २१ वर्षीय जियाउल अन्सारी रहेका छन् ।

मंगलबार राति १ः३० बजे ४ जनाको समूहमा आएकाहरूले घरमा लुटपाट गर्नुका साथै बालिकालाई अपहरण गरी डेढ किलोमिटर टाढा बाँसघारीमा लगेर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले बताए ।

लुटपाट र सामूहिक बलात्कारमा संलग्न रहेका तीनै जनालाई महोत्तरी जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्ने अनुमति लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

सम्बन्धित
Loading...