काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडिङ सिष्टममा न्युनतम प्राप्तांकको मापदण्ड लागू गरेको छ ।
यस वर्ष चैत्र पहिलो हप्तादेखि हुने एसईईमा ग्रेडिङ सिष्टम परिवर्तन भरी ३५ प्रतिशत वा सोभन्दा माथिको अंक आए मात्र ग्रेड हुने, अन्यथा नन ग्रेड हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । नन ग्रेड आएका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन पाउने छैनन्, अर्थात् फेल भएको मानिनेछ ।
अध्यक्ष शर्माले हाल संसद्मा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले परीक्षा हुन्न कि भन्ने अन्यौलता भए पनि विधेयक पास भएर कानून नबनेसम्म परीक्षा हुने बताए ।
परीक्षा नियन्त्रक नन्दालाल पौडेलले यस वर्षदेखि एसईईका सबै विषयमा उत्तीर्ण हुनका लागि अनिवार्य रूपमा ३५ नम्बर ल्याउनुपर्ने बताए ।
यस वर्ष एसईईको परीक्षामा नन ग्रेडिङ लागू हुने भएकाले पास हुनका लागि सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने पौडेलले बताए ।
यसअघि लेटर ग्रेडिङ सिस्टम लागू गर्दै विद्यार्थी फेल नहुने अभ्यास भएपछि शिक्षाको गुणस्तर खस्किएको र विद्यार्थी अल्छी भएका भन्दै आलोचना हुने गरेको थियो ।