नागरिक उन्मुक्ति पार्टीको राजनीतिक प्रतिवेदन लेख्दै रेशम, पुस २६ गतेदेखि महाधिवेशन हुँदै

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशमलाल चौधरीले महाधिवेशनपछि नाउपा देशकै साझा पार्टी बन्ने बताएका छन् ।

प्रथम महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखिरहेका नेता चौधरीले भने, ‘थरुहट आन्दोलनको जगबाट स्थापित भएको हाम्रो पार्टीलाई क्षेत्रीय पार्टीको रूपमा हेर्ने गरिएको छ तर हाम्रो सोच, भिजन र एजेण्डा कुनै एउटा भूगोल या जातजातिको मात्रै नभई समग्र देश र देशवासीका तमाम पहिचानको रक्षा गर्दै देशको विकासमा योगदान पुर्‍याउनु हो । त्यसैले पार्टीको राजनीतिक प्रतिवेदनले हिमाल, पहाड र तराई सम्पूर्ण देशवासीको साझा पार्टीका रूपमा अघि बढ्न मार्गनिर्देश दिनेछ ।’

नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म पार्टीको आधार भूमि कैलालीको टीकापुरमा हुँदैछ । पार्टी स्थापनाको छोटो समयमै राम्रो मत ल्याउँदै लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका उल्लेख्य नागरिकको मन जितेको दलको महाधिवेशन भइरहेको नाउपाले जनाएको छ ।

महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । नाउपामा अध्यक्ष, सहअध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, ७ सहसचिव र १ कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा ७७ वटै जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी गराउने पार्टीको तयारी छ ।

पार्टीको महाधिवेशन भव्यरूपमा सफल पार्नका निम्ति विभिन्न समिति तथा उपसमिति बनाएर काम तीव्र पारिएको नाउपाले जनाएको छ । पार्टीले महाधिवेशनको आन्तरिक तथा व्यवस्थापकीय कामका साथै देशभरबाट प्रतिनिधि छनोट र अतिथिलाई निमन्त्रण दिने कामलाई तीब्रता दिएको छ ।

सम्बन्धित
Loading...