धनगढी । बाजुराको बडिमालिका नगरपालिका–२ खडिगाडमा २ ट्रयाक्टर एकआपसमा ठोक्किएर ४ जनाको मृत्यु भएको छ ।
बाजुरा सदरमुकाम मार्तडीबाट गौमुलतर्फ गइरहेको सुप प्र ०१–००२ त ४१०५ नम्बरको ट्रयाक्टरलाई सोही दिशातर्फ गइरहेको लु४त ७३०५ नम्बरको ट्रयाक्टरले ओभरटेक गर्दा अगाडिको ट्रयाक्टरमा ठोक्किँदा दुवै ट्रयाक्टर सडकमा पल्टिएर दुर्घटना भएको हो ।
आईतबार साँझतिर दुर्घटना हुँदा लु४त ७३०५ नम्बरको ट्रयाक्टरमा सवार बाजुराको गौमुल गाउँपालिका–६ बस्ने २६ वर्षीय ट्रयाक्टर चालक हिक्मत रोकाया, बडिमालिका नगरपालिका–१ बस्ने ४० वर्षीय चन्द्र दानी, बडिमालिका नगरपालिका–२ बस्ने २३ वर्षीय किट्टी रोकाया र बडिमालिका नगरपालिका–२ बस्ने ४१ वर्षीय देवराज जोशीको ट्रयाक्टरमुनि च्यापिएर घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका सुप प्र ०१–००२ त ४१०५ नम्बरको ट्रयाक्टरमा सवार ३ जना उपचारपश्चात राति नै डिस्चार्ज भएका छन् भने फरार रहेका सुप प्र ०१–००२ त ४१०५ नम्बरको ट्रयाक्टर चालकको प्रहरीले खोजतलास गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।