सडकमा ड्युटी गरिरहेका बेला गाडीले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

नेपालगञ्ज । बाँके जिल्लाको कोहलपुर नगरपालिका–३ मदनचोक नजिकै बोलेरो गाडीको ठक्करबाट १ प्रहरी जवानको मृत्यु भएको छ ।

ड्युटीमा रहेका बेला गाडीले ठक्कर दिँदा अर्का प्रहरी सहायक हवल्दार गम्भीर घाइते भएका छन् ।

गाडीको ठक्करबाट रुकुमपश्चिमको मुसिकोट घर भई हाल ईलाका प्रहरी कार्यालय कोहलपुर मातहत प्रहरी बिट मदन चोकमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताए ।

बाँसगढी नगरपालिका–५ बर्दिया घर भएका ३२ वर्षीय प्रहरी सहायक हवल्दार लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएको उनले बताए ।

ड्युटीमै रहेका प्रहरी जवान र सहायक हवल्दारलाई पश्चिमबाट पूर्वतर्फ गइरहेको भे१च ३४०७ नम्बरको बोलेरो गाडीले बिहीबार राति मदन चोक नजिक ठक्कर दिएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको र उपचारका क्रममा प्रहरी जवान वलीको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिए ।

गम्भीर घाइते प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीको कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाउन लागिएको छ । प्रहरीलाई ठक्कर दिने बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...