महेन्द्रनगर । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा पूर्व राजा महेन्द्र्र शाहको सालिक पुनःस्थापना गर्ने तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विरुद्ध कञ्चनपुरका ८ राजनीतिक दल एकजुट भएका छन् ।
राप्रपा कञ्चनपुरको अगुवाइमा भएको र्याली महेन्द्रनगरको पार्कमा पुगेर सहिद भीमदत्त पन्तको सालिकमा तोडफोड गरिएको घटनाको निन्दा गर्दै ८ दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
बुधबार बसेको ८ दलको सर्वदलीय बैठकले राप्रपाको सालिक पुनःस्थापना गर्ने क्रियाकलाप रोक्न स्थानीय सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । राप्रपाले मंसिर २८ गते सालिक पुनःस्थापना गर्ने तयारी थालेको छ ।
बुधबार जारी संयुक्त वक्तव्यमा नेपाली कांग्रेसका सभापति पदम बोगटी, नेकपा एमालेका कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा, नेकपा माओवादी केन्द्रका संयोजक खेमराज पाण्डेय, नेकपा एकीकृत समाजवादीका सचिव हरकसिंह धामी, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अम्बादत्त तिवारी, राष्ट्रिय जनमोर्चाका सदस्य सुसिमान घर्ती, नेपाल कम्युनिष्ट पार्टीका इन्चार्ज विराट सी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक विष्णुराम दमाईले हस्ताक्षर गरेका छन् ।
यस्तो छ वक्तव्य –