काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक वृत्तमा गृहमन्त्री फेर्ने चर्चा चलेको छ तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक हल्लालाई खारेज गरिदिएका छन् ।
दुबईबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईतबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री फेर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । उनले मन्त्रिमण्डल पुनर्गठनको तयारी नरहेको स्पष्ट पारे ।
उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, को मन्त्री हट्छ, को आउँछ ? गृहमन्त्री हट्ने रे भन्ने चर्चा धेरै भयो तर हामीले अहिले गठबन्धनभित्र छलफल गरेको छैन, यसबारे सोचिएको छैन । म प्रधानमन्त्री छु, मेरो दिमागमै छैन यो कुरा । त्यसकारण यो सबै हल्ला मात्रै हो ।’