दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने ‘समृद्धिका लागि संकल्प यात्रा’ आज आईतबार दैलेखको राकम कर्णाली पुग्दैछ ।
एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार मंसिर १४ गते बैतडीको जुलाघाटदेखि सुरु भएको ‘जुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ चौथो दिन कर्णाली प्रदेशमा प्रवेश गर्दैछ ।
यात्राका सिलसिलामा पार्टीका अध्यक्ष ओलीसहित सिंगो ‘हेडक्र्वाटर’ नै आउने भएपछि एमाले कर्णालीका नेता–कार्यकर्ताले स्वागतद्वार, तोरण र झण्डाले राकम कर्णाली रंगाएका छन् ।
‘सुदूरपश्चिम प्रदेशको अछामसँग जोडिएको राकम कर्णाली अरु समयभन्दा निकै फरक देखिने गरी झण्डा, ब्यानर र स्वागतद्वारले रङ्गिएको छ,’ आठविस नगरपालिका–५ का पदम माझीले भने, ‘व्यापारिक रूपमा सामान्य राकममा कार्यक्रम हुने प्रचार भएदेखि चहलपहल ह्वात्तै बढेको छ ।’
राकममा भएका कुनै पनि होटेल खाली नभएको बताएका माझीले एमालेको अभियानले कार्यकर्ता मात्रै होइन, मध्य पहाडको अर्थतन्त्र समेत चलायमान भएको बताए ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रममा कर्णालीको कालिकोट, दैलेख, जुम्ला, सुर्खेत र सुदूरपश्चिमको अछाम, बाजुराका जनताको समेत उपस्थिति हुने एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।
आईतबार बिहान १० बजे हुने कार्यक्रममा देउडा खेल, हुड्के नाच र विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति राखिएको छ । आमसभाको तयारीका लागि एमाले सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज यामलाल कँडेल, प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र प्रदेश सभाका सांसद, पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू राकम कर्णाली केन्द्रित भएका छन् ।