बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीमा आज शनिबार दुर्घटना हुँदा दाजुबहिनीको मृत्यु भएको छ ।
शनिबार बिहान स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकैघरका २ जनाको मृत्यु भएको हो ।
लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु३७प ८४८२ नम्बरको मोटरसाइकललाई लु१क १७७८ नम्बरको स्कूल बसले पछाडिबाट ठक्कर दिँदा लुम्बिनी सांस्कृतिक नगरपालिका–४ का २१ वर्षीय महम्मद इसाद र १६ वर्षीया रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमै सवार १२ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन् । घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका जानकारी दिए । अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–४ का वडाध्यक्ष विनोदकुमार श्रीवास्तवले मदरसा जाने क्रममा गाडीले ठक्कर दिँदा दुवैको मृत्यु भएको जानकारी दिए ।