मासिक १ लाख तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर लाखौं ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा मासिक १ लाख तलब हुने गरी पठाइदिने प्रलोभनमा पारेर ठगी गरिएको छ ।

ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै १७ लाख १७ हजार ३०० रूपैयाँ ठगी गरेको अभियोगमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय दिपेश बास्कोटालाई पक्राउ गरिएको छ ।

बास्कोटाले ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बारा जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको छ ।

यसैगरी, वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी रकम ठगी गरेकाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको बाफलबाट पक्राउ गरेको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...