सबै सवारीसाधनमा अनिवार्य ‘इम्बोस्ड नम्बर प्लेट’ लागू

पोखरा । यातायात व्यवस्था कार्यालय पोखराले आईतबारदेखि दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

कार्यालयले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराउने कार्यालय प्रमुख डिल्ली रिजालले बताए । उनका अनुसार यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयअनुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको छ ।

‘पोखरामा इम्बोस्ड नम्बर प्लेट जडान पहिलेदेखि नै सुरु भएको हो तर त्यति प्रभावकारी हुन सकेको थिएन,’ उनले भने, ‘अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमित रूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।’

कार्यालयले सेवाग्राही र अटो व्यवसायीलाई अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचित समेत गरेको छ । ‘अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्य रूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ,’ कार्यालयको सूचनामा भनिएको छ ।

प्रविधिमा आधारित इम्बोस्ड नम्बर प्लेटमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले जानकारी दिए ।

सम्बन्धित
Loading...