महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर सम्बद्ध जनसंगठनले सहिद भीमदत्त पन्तप्रति गरिएको अपमानको जनताले बदला लिने चेतावनी दिएका छन् ।
शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमाले सम्बद्ध जनसंगठनहरूले भीमदत्त नगरपालिकाको भीम वाटिकास्थित सहिद भीमदत्तको सालिकमा गरिएको तोडफोडको घोर निन्दा र भर्त्सना गरेका छन् ।
अनेरास्ववियुका संयोजक अमरबहादुर धामी, राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष दिनेश विष्ट, उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष नरेश सिलाल, नेपाल खेलकुद महासंघका कोषाध्यक्ष गगन क्षेत्री, अखिल नेपाल महिला संघका उपाध्यक्ष भुवन कुँवर, अखिल नेपाल किसान महासंघका अध्यक्ष रामबहादुर बुढा, प्रेस चौतारी नेपालका अध्यक्ष लक्ष्मण पन्तले हस्ताक्षर गरेको विज्ञप्तिमा सालिक तोडफोडलाई निकृष्ट कार्यको संज्ञा दिइएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘सुदूरपश्चिमका मजदुर, किसान, उत्पीडित र शोषणका विरुद्ध लड्दालड्दै सहिद भएका किसान नेता भीमदत्त पन्तप्रति गरिएको अपमानको नेपाली जनताले बदला लिनेछन् भन्ने चेतावनी दिँदै यस्ता अराजक गतिविधिहरूलाई प्रश्रय दिने गरी टुलुटुलु तमासे बनेको सरकारलाई यस्ता गतिविधिबाट उत्पन्न हुनसक्ने परिणामप्रति सचेत रहन जोडदार मागसहित दोषीलाई यथाशीघ्र कारवाहीको माग गर्दछौं ।’