महेन्द्रनगर । सुनका गहना लुट्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको खुलासा भएको छ ।
मृतक जोशीको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्रबहादुर सोव र धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती रहेका छन् ।
शुक्लाफाँटाकै महेश डगौराले हत्या गरी सुनका गहना लुटेको, लक्ष्मण चौधरी र निरज भट्ट सुनका गहना बिक्री गर्ने तथा न्यू बर्दादेवी सुनचाँदी पसलका सञ्चालक ईन्द्र बराल सुनार, न्यू दिया सुनचाँदी पसलका सञ्चालक खगेन्द्र बहादुर सोव र सुजल सुनचाँदी पसलका सञ्चालक दिपेन्द्र सिजापतीले सुनका गहना खरिद गरेको खुल्न आएको प्रहरीले जनाएको छ । सुनका गहना कैलालीको धनगढी बजारमा खरिदबिक्री भएका थिए ।
कात्तिक १९ गते दिउँसो घास काट्न भनी जोशी घरनजिकै मध्यवर्ती सामुदायिक वनतर्फ गएकोमा घरमा फर्किएर नआएछि खोजी गर्ने क्रममा कात्तिक २० गते वनमा उनको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा प्रहरीले महेश डगौरालाई झलारी बजारबाट मंसिर १ गते पक्राउ गरेको थियो ।
महेशले मध्यवर्ती सामुदायिक वनको गेटबाट भित्रतर्फ गइरहेको अवस्थामा नारुदेवीसँग घाँस काटिदिन्छु भनि हँसिया मागेर हँसिया केही टाढा फाली उनकै चुन्नी जस्तो कपडाले घाँटी कसेर हत्या गरेको र मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुली लुटेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
लुटिएका सुनका गहना समेत ३ वटै पसलबाट प्रहरीले बरामद गरिसकेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।