काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ ।
बिहीवार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो ।
देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन् ।
अहिले कांग्रेसमा करीब ५ लाख क्रियाशील सदस्य छन् । अब ५ लाख क्रियाशील सदस्य थपिनेछन् । पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन् ।
‘छिट्टै केन्द्रीय समिति बैठक बसेर औपचारिक निर्णय हुनेछ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने । पार्टीका पूर्व पदाधिकारीसहित पदाधिकारी बैठक बसेको हो । विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने र पार्टी समायोजनका साथै सदस्यता लिन चाहनेको संख्या धेरै भएपछि तल्लो तहबाटै क्रियाशील सदस्यता थप गर्नुपर्ने दबाब आएको हो ।
यसअघि पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता दोब्बर बनाउनुपर्ने प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएको थियो ।
कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरूबीच गुटगत राजनीति गहिरिँदै गएका बेला पदाधिकारी बैठक बसेको हो । ‘पछिल्लो समय शीर्ष नेताबीच संवादहीनताको अवस्था थियो, त्यसलाई तोड्ने काम भएको छ,’ एक पदाधिकारीले भने, महाधिवेशनबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल भएको छ ।’
महाधिवेशनको मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठनका साथै पूर्णता दिने काम थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ । असन्तुष्ट समूहले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिनुका साथै सभापति देउवालाई भेटेरै लिखित ध्यानाकर्षण गराएको थियो ।
महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग र विभिन्न समिति गठन गरिएकोप्रति पदाधिकारी बैठकमा पनि पौडेलले असन्तुष्टि जनाएका थिए । ‘अहिले आएर किन विभाग गठन गर्दै हुनुहुन्छ, महाधिवेशन गर्नुपर्ने बेलामा विभाग गठन गर्ने र मनोनीत गर्ने कार्य बन्द गर्नुस्,’ पौडेलले भने, ‘समयमै महाधिवेशन गर्ने सुनिश्चितता गर्नुपर्छ ।’ साथै उनले केन्द्रीय समितिको बैठक नै नबोलाई भ्रातृसंस्थाको समयावधि थप गरेकोप्रति पनि असहमति जनाएका थिए ।
जवाफमा सभापति देउवाले सहमतिमै विभाग गठन गर्न खोज्दा ढिलाइ भएको बताएका थिए । ‘मैले सुरूदेखि नै तपाईंसँग नाम मागेको थिएँ, दिनु भएन,’ उनले भने, ‘अझै पनि समय छ, नाम दिनुस् । सहमतिमै विभाग गठन गरौं ।’ उनले विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको पौडेल समूहको आरोपको खण्डन गरे । ‘तपाईंहरू पनि नाम दिनुस्, मिलेर विभाग बनायो भने कसरी महाधिवेशन प्रभावित हुन्छ ?’ देउवाले भने, ‘म फागुनमै महाधिवेशन गर्न प्रतिबद्ध छु ।’
कांग्रेसले आसन्न फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
पदाधिकारी बैठकको सुरूमै महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको अन्तरिम संरचना समायोजनको काम, भ्रातृसंस्थाको समयावधि थप, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान संशोधन लगायतका विषयमा स्पष्ट पारेका थिए । बैठकमा क्रियाशील सदस्यता छानबिन समिति गठनबारे छलफल भए पनि टुंगो भने लाग्न सकेन। कांग्रेस विधानले सभापतिलाई समिति गठनको अधिकार दिएको छ ।
सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठकमा संयोजक तोक्ने बताएका छन् । साथै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग समिति सदस्यको नाम मागेका छन् ।
(अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।)