एक घर एक पीसीआर जाँच गर्नुपर्ने कांग्रेसको प्रस्ताव नेकपाको बहुमतबाट ‘फेल’

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको आशंका बढिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गर्‍यो । जसमा उल्लेख थियो – एक घर एक पीसीआर जाँच गर्नुपर्ने ।

कांग्रेसले मात्रै होइन, देशभर अधिकांश जनताले धेरैभन्दा धेरै पीसीआर जाँच गरेर कोरोना परीक्षण हुनुपर्ने माग गर्दै आएका छन् । काठमाडौंका सडकमा प्रदर्शन समेत हुँदै आएको छ ।

जनताको मागलाई वैधता दिन नेपाली कांग्रेसले प्रदेश सभामा दर्ता गराएको प्रस्ताव सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सांसदले ‘फेल’ गराइदिएका छन् । कांग्रेसको संकल्प प्रस्ताव प्रदेश सभाको बहुमतबाट अस्वीकृत भएको छ । प्रदेश सभामा नेकपाको बहुमत छ ।

कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, सांसद कुमार खड्का र सरिता गुरुङले असार २३ गते प्रदेश सभामा प्रस्ताव दर्ता गराउनुभएको थियो । संकल्प प्रस्तावमाथि छलफल नभएपछि कांग्रेसले साउन १२ गतेको बैठक अवरुद्ध गरेको थियो ।

जनपक्षीय प्रस्ताव फेल भएपछि कांग्रेस सांसद श्रेष्ठले भन्नुभयो, ‘प्रस्ताव अस्वीकृत हुन्छ भन्ने लागेको थियो । नेकपाको बहुमतको सरकार प्रतिपक्ष र जनताको मागतर्फ उत्तरदायी देखिएन ।’

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको क्वारेन्टाइनको व्यवस्था तत्काल मिलाउन, स्वास्थ्य जनशक्ति भेन्टिलेटर लगायतका आवश्यक स्वास्थ्य उपकरणयुक्त आईसीयू र आइसोलेसन कक्षको व्यवस्था निर्माण गर्न, कोरोनाको कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न गण्डकीका ११ वटै जिल्लामा स्थान तत्काल व्यवस्था गर्ने माग राख्दै संकल्प प्रस्ताव पेश गरिएको थियो ।

सम्बन्धित
Loading...