मध्यराति डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु
धनगढी । डोटीमा गएराति जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
राति २ः२८ बजे डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह राजमार्गमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जीप एक्कासि अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेर दुर्घटना भएको हो । जीपमा सवार चालकसहित १० जनामध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइतेलाई उपचारका लागी शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ । चालक बाजुराको गौमुल गाउँपालिका–४ काडाकोट बस्ने २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका छोरा अन्दाजी ६ वर्षीय कबिन्द्र बुढा र बिमला मलालकी छोरी अन्दाजी ८ महिनाकी प्रार्थना मलाल रहेका छन् ।
घाइतेमध्ये बाजुराको हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीय प्रकाश बुढा थापाको हात, छाती र बायाँ खुट्टामा चोट लागेको छ ।
हिमाली गाउँपालिका–५ कै २३ वर्षीयको खोमबहादुर मलाल हातमा चोट, २४ वर्षीय दानबहादुर बुढालाई भित्री चोट, २१ वर्षीय विमला मलाललाई टाउको र छातीमा चोट, २१ वर्षीय राजबहादुर मलाललाई भित्री चोट लागेको प्रहरीले जनाएको छ ।