काठमाडौं । पतंजलि योग समिति नेपालले जाजरकोट भूकम्पका पीडितका लागि देशैभरका जिल्ला–जिल्लामा राहत सामग्री जुटाउन निर्देशन दिएको छ ।
पतंजलि योगपीठका आचार्य बालकृष्ण महाराजले भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न निर्देशन दिएका थिए । समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र र महिला पतंजलि योग समिति नेपालका प्रमुख साध्वी देवादितीजीले राहत सामग्री जुटाउन अनुरोध गरेका छन् ।
कर्णाली प्रदेशका योग साधकहरूलाई उद्धार र राहत वितरणमा जुट्न भनिएको छ । देशैभरका जिल्ला, नगर, वडा र केन्द्र समितिबाट नगद वा खाद्यान्न सहयोग गर्न निर्देशन गरिएको पतंजलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्टले जानकारी दिए ।
भूकम्पमा अभिभावक गुमाएर अनाथ भएका बालबालिकालाई पतंजलिको बाल आश्रममा राखिने जनाइएको छ ।
समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०८० साल कात्तिक १७ गते रात्रीको भूकम्पबाट ज्यान गुमाउने दाजुभाइ, दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै राहतका लागि जिल्ला–जिल्लामा आजैदेखि सामग्री एकत्रित गर्नुका साथै सेवा दिन चाहने पतञ्जलिका मित्रहरू तयार रहन अनुरोध गर्दछु ।’
भूकम्प प्रभावितलाई सहयोग गर्न पतंजलि योग समितिले सबैमा आह्वान गरेको छ ।