झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा नियमित योग साधना हुने भएको छ ।
वडा कार्यालयको आयोजनामा ८ दिनसम्म चलेको निःशुल्क योग शिविरको समापन कार्यक्रममा स्थानीयले नियमित योग साधना गर्ने प्रतिबद्धता जनाउँदै अगुवा भानबहादुर हमालको अध्यक्षतामा पतंजलि योग समिति नेपाल, वडा कार्यसमिति गठन गरेका छन् ।
वडा कार्यसमितिको अध्यक्षमा भानबहादुर हमाल, उपाध्यक्षमा तेजेन्द्रसिंह विष्ट, महामन्त्रीमा विष्णुदत्त अवस्थी, कोषाध्यक्षमा दीपकराज भट्ट र सदस्यमा नरेन्द्रबहादुर बोहरा चयन भएका छन् । समितिको संरक्षकमा जनप्रतिनिधि वडाध्यक्ष उत्तरदेव भट्ट र सदस्य बलदेव अवस्थी रहेका छन् ।
महिला योग समितिको अध्यक्षमा सुशीला जोशी, उपाध्यक्षमा देवकी धामी, महामन्त्रीमा नन्दा धामी, कोषाध्यक्षमा लक्ष्मी हमाल, सदस्यमा पददा हमाल र निर्मला विष्ट चयन भएका छन् ।
युवा योग समिति अध्यक्षमा ज्ञानराज गुप्ता र महामन्त्रीमा लक्ष्मण बोहरा लगायत चयन भएका छन् ।
निःशुल्क योग प्रशिक्षण शिविरमा शुक्लाफाँटा पतंजलि युवा समितिका अध्यक्ष केशवराज पनेरु मुख्य प्रशिक्षक रहेका थिए भने सहायक प्रशिक्षकमा ज्ञानराज गुप्ता रहेका थिए । औपचारिक कार्यक्रमको समापन भए पनि नियमित योगाभ्यासमा आफू पनि समय मिलाएर सहभागी हुने मुख्य प्रशिक्षक पनेरुले जानकारी दिए ।
वडाध्यक्ष भट्टले योग साधनालाई निरन्तरता दिएर रोग र शोकबाट बच्न सकिने बताए । २ नम्बर वडाका वडाध्यक्ष भोदुराम चौधरी र १२ नम्बर वडाका वडाध्यक्ष नवलसिंह रानाले योग साधनाबाट लाभ मिल्ने भएकाले आफ्नो वडामा पनि योग साधनालाई विस्तार गर्ने जानकारी दिए ।
समापन कार्यक्रममा मेयर रणबहादुर महरा र उपमेयर कल्पना पन्तले जनस्तरमा योग साधना फैलाउन नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । शिविरको उद्घाटन कार्यक्रममा समेत मेयर महरा र उपमेयर पन्तको उपस्थिति रहेको थियो । समापन समारोहमा पतंजलि योग समिति शुक्लाफाँटाका महामन्त्री केपी पाण्डेको पनि उपस्थिति थियो ।
समापन कार्यक्रममा कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत स्वरुप ४ हजार २० रुपैयाँ नगद संकलन गरिएको छ । संकलित रकम पतंजलिको जिल्ला समितिमार्फत प्रभावित क्षेत्रमा पठाइने महामन्त्री पाण्डेले जानकारी दिए ।