दैजीमा संघर्ष समितिको भेलाबाटै मेयर–ठेकेदार वार्ता, छठपछि अस्पताल भवन बनाउने वाचा

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा अस्पताल भवन बनाउन ढिलासुस्ती गरिरहेको निर्माण कम्पनीका सञ्चालकले छठपछि काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

दैजीको भवन निर्माण स्थलमा शनिबार भएको संघर्ष समितिको भेलामा सहभागी बेदकोट नगरपालिकाका नगर प्रमुख (मेयर) भोजराज बोहराले तत्कालै ठेकेदार कम्पनी सञ्चालक भीमबहादुर साउँदसँग फोनमा कुराकानी गरेको संघर्ष समिति संयोजक खगेन्द्र नाथले जानकारी दिए ।

‘मेयर सा’पले उहाँसँग फोनमा कुरा गर्नुभयो, तिहार नजिकै आएकाले अब छठपछि अस्पताल भवन बनाउने वाचा गर्नुभयो,’ उनले भने, ‘मेयरसँग ठेकेदारले वाचा गरेपछि हामीले ततकाल संघर्षका कार्यक्रम रोकेका छौं । छठसम्म हेर्छाैं ।’

छठपछि निर्माण कार्य अगाडि नबढे संघर्ष अगाडि बढाउने संयोजक नाथले जानकारी दिए । संघर्ष समितिले शुक्रबार नगरपालिका कार्यालयमा सर्वपक्षीय भेला गरेको थियो । भेलामा मेयर बोहरा सहभागी भएका थिएनन् तर शनिबारको भेलामा मेयर बोहरा सहभागी भएर ठेकेदारसँग कुरा गरी काम अगाडि बढाउने पहल गरेका छन् ।

संघर्ष समितिले तिहारअघि नै नगरपालिकामा औपचारिक रूपमा ज्ञापनपत्र बुझाउने भएको छ । शनिबार भएको संघर्ष समितिको भेलाले नगरपालिकामा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

 नेपाली कांग्रेसका प्रतिनिधि भने शुक्रबार र शनिबार दुबै दिनको भेलामा पनि सहभागी नभएका संयोजक नाथले बताए । उनका अनुसार अन्य दलका प्रतिनिधि भने अस्पताल भवन बनाउने संघर्षको छलफलमा सहभागी भइरहेका छन् ।

सम्बन्धित
Loading...