धनगढी । १७ वर्षीय नाबालक र १८ वर्षीय किशोरीबीच शारीरिक सम्पर्क भएको घटना कात्तिकमा सार्वजनिक भएको छ ।
सुदूरपश्चिमको बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिकामा भएको घटनाले बलात्कारको रूप लिएपछि नाबालक पुरुष पक्राउ परेका छन् । आरोपी नाबालक भएको र पीडित महिला भएकाले दुवैको परिचय भने खुलाइएको छैन ।
किशोरी बलात्कारको आरोपमा पञ्चेश्वरका १७ वर्षीय नाबालक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
पक्राउ परेका नाबालकले किशोरीलाई असार २७ र भदौ २३ गते राति घरमा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । पीडित किशोरी गर्भवती भएपछि बलात्कारको खुलासा भएको छ ।
पक्राउ परेका नाबालकविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।