प्रचण्डलाई वामदेव गौतमको सिधा जवाफ : ‘म गुटमा लाग्दिनँ’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला उपाध्यक्ष वामदेव गौतम समेत चर्चाका पात्र बन्ने गर्नुभएको छ ।

निर्वाचित सांसदलाई राजीनामा गराएर आफू सांसद बन्न कोसिस गरेकोदेखि राष्ट्रियसभा सदस्य मनोनित गर्न नेकपा सचिवालयले गरेको निर्णय कार्यान्वयन नभएदेखि नै चर्चामा रहनुभएका उपाध्यक्ष गौतम पछिल्लो समय नेकपाभित्रको शक्ति संघर्षको चर्चामा हुनुहुन्छ ।

नेकपाभित्र सहमतिका लागि गौतमले ६ बुँदे प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली भैसेपाटी पुग्नुभयो । यसलाई नेकपाभित्र धेरै चासोका लागि हेरियो । त्यसको केही दिनपछि साउन २० गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत भैसेपाटी पुगेर गौतमलाई भेट्नुभयो ।

कुनै बेला ओलीविरुद्ध योजना बन्ने भैसेपाटी यतिबेला प्रचण्डका लागि बिरानो बन्दै गएको छ । प्रचण्डले वामदेवलाई फकाउन गर्नुभएको कोसिस असफल भएको संकेत उपाध्यक्ष गौतमको सचिवालयले गरेको छ ।

उपाध्यक्ष गौतमका सहयोगी विश्वमणि सुवेदीले बुधवार एक प्रेस नोट जारी गर्दै गौतमले प्रचण्डलाई कुनै पनि गुटमा नलाग्ने जवाफ दिनुभएको स्पष्ट पार्नुभएको छ ।

यस्तो छ प्रेस नोट –

स्पष्ट पारिएकोबारे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क.पुष्पकमल दाहाल (प्रचण्ड) ले साउन २० गते मंगलबार विहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख क. वामदेव गौतमसँग गर्नुभएको भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

उक्त भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो ।

उक्त भेटका सन्दर्भमा विभिन्न किसिमका चर्चा, परिचर्चा गरिए पनि वास्तविकता निम्नानुसार मात्र भएको स्पष्ट पारिन्छ ।
स्मरणीय छ कि,साउन १३ गते उपाध्यक्ष क.वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राख्नुभएको प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री क.केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसक्नुभएको थियो ।

२० गते पार्टीका अर्का अध्यक्ष क.प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा उपाध्यक्ष क.वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो ।

क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो ।
उपाध्यक्ष क.वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क.प्रचण्डलाई बिदा गर्नुभयो ।

विश्वमणि सुवेदी
उपाध्यक्ष क.वामदेव गौतमको सहयोगी

स्पष्ट पारिएको बारे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क.पुष्पकमल दाहाल (प्रचण्ड) ले…

Posted by Bishwamani Subedi Bimasu on Wednesday, August 5, 2020

सम्बन्धित
Loading...