काठमाडौं । देशभर विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको टोखा नगरपालिका–११ गणेशस्थान नजिक सडकमा बा३ख ७१८० नम्बरको ट्यांकरको ठक्करबाट पैदलयात्री ६० वर्षीया फुलमाँया गुरूङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित सडकमा बा७८प ३६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री जोशीपुर गाउँपालिका–४ हस्नापुर बस्ने ३६ वर्षीय डाटाप्रसाद चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाघझोरास्थित सडकमा भैसेबाट हेटौंडातर्फ जाँदै गरेको ना१७प २१८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित दुर्घटना हुँदा चालक भीमफेदी गाउँपालिका–१ बैकरोड बस्ने ३४ वर्षीय सुमिन लामाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको उपचार भइरहेको छ ।
बर्दियाको बडैयाताल गाउँपालिका–३ तमौलिपुरस्थित सडकमा भे११प १३०५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४२ वर्षीय मानबहादुर थारूको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनीस्थित सडकमा राजविराजबाट पत्थरगाढातर्फ जाँदै गरेको स१०प ४७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बोदेबर्साईन नगरपालिका–१ धनदगढी बस्ने ३५ वर्षीय रेमन्त साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
बाजुराको बडिमालीका नगरपालिका–६ जडङगामा बल्देबाट मार्तडीतर्फ आउँदै गरेको सुप प्र ०१–००१ त ६८२६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार ३६ वर्षीय बहादुर दानीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।