एमालेका प्रदेश कमिटीले अब यसरी गर्नुपर्नेछ काम, बैठकमा नआए कमिटीबाट बिदाइ

काठमाडौं । नेकपा एमालेले देशैभरका ७ प्रदेश र १ विशेष प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको छ ।

केन्द्रीय महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै ५ प्रदेशमा चुनावबाट र ३ प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन भएको जानकारी दिए ।

उनले लेखेका छन्, ‘अधिकांश जिल्लामा प्रदेश सदस्यका लागि सहमति भएको छ । प्रदेश अधिवेशनवाट निर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना । अघिवेशन सफलतापूर्वक सम्पन्न गर्ने आयोजक कमिटीलाई धन्यवाद !’

अब निर्वाचित नेतृत्वले अधिवेशनका समयको विशेषगरी नेतृत्व चयनका सन्दर्भमा भएको प्रतिस्पर्धालाई बिर्सेर एकता र सहमति निर्माणमा आफूलाई केन्द्रित गर्नुपर्ने उनको सुझाव छ । ‘प्रतिस्पर्धाका कारणले कमिटीबाट बाहिरिएका कमरेडहरूको कामको जिम्मेवारीको योजना बनाएर कार्यान्वयनमा लैजानुपर्छ,’ उनले भने ।

प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन भएका प्रदेशले जिल्ला अधिवेशनमा सहमति जुटाउन अधिकतम् जोड दिनुपर्ने उनको सुझाव छ । ‘निर्वाचित कमिटीले मापदण्डका आधारमा सचिवालय गठन र कार्यविभाजनको काममा अविलम्ब ध्यान दिनुपर्छ,’ उनले भने, ‘विधानको व्यवस्थाअनुसार मनोनयनको अधिकार एकैचोटी प्रयोग नगरी आवश्यकताका आधारमा गर्दै जाने नीति अवलम्बन गर्नु उचित हुन्छ ।’

मिसन ग्रासरुटले औंल्याएका समस्या र सुझावका आधारमा वार्षिक कार्ययोजना तयार गरी योजनाबद्ध रूपमा कामलाई अघि बढाउनुपर्ने उनले बताए । ‘पार्टी सदस्यको योजनाबद्ध परिचालन, सदस्यता विस्तार, प्रशिक्षण, कमिटी परिचालन र सुदृढीकरण, कार्यालय व्यवस्थापन, युवा नेतृत्वको विकास जस्ता विषयमा जोड दिनुपर्छ,’ उनले भने, ‘जनसरोकारका विषय र सामाजिक मुद्दाहरूमा आन्दोलन र अभियान सञ्चालन गर्नुपर्छ र सबै वर्ग र समुदायका जनताबीच पार्टीलाई स्थापित गर्ने काम गर्नुपर्छ ।’

नियमित रूपमा कमिटीका बैठक आयोजना गर्ने र गर्न लगाउने कामको नेतृत्व गर्नुपर्ने महासचिव पोखरेलको सुझाव छ । ‘लगातार विना कुनै उचित कारण अनुपस्थित हुने सदस्य तथा पदाधिकारीलाई कमिटीबाट बिदा गर्ने व्यवस्था लागू गर्नुपर्छ,’ उनले भने ।

वर्तमान गठबन्धन सरकारका जनविरोधी र राष्ट्र विरोधी क्रियाकलापको विरोध र भण्डाफोर गर्नुपर्ने, नयाँका नाममा पपुलिज्मका आधारमा यस्थास्थितिवादको सेवा गर्ने गलत प्रवृत्तिबारे जनतालाई सचेत र जागरुक बनाउनुपर्ने उनको सुझाव छ ।

उनले अगाडि लेखेका छन्, ‘समग्र पार्टी पंक्तिलाई मिसन ८४ का लागि परिचालित गर्नुपर्दछ र हरेकका घरघरमा पुगेर पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु किन आवश्यक छ भन्ने कुरा बताउनुपर्छ । निराशालाई चिर्दै जनतामा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने विश्वास जागृत गरौं । सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना !’

सम्बन्धित
Loading...