कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले एमाले अध्यक्ष ओलीलाई भेटेपछि …

काठमाडौं । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको निर्णयविपरीत नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका सांसद केदार कार्कीले राजधानी काठमाडौं आएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

शपथ ग्रहण हुनुअघि अध्यक्ष ओलीलाई भेटेर मुख्यमन्त्री कार्कीले एमालेका सांसदलाई प्रदेश सरकारमा मन्त्री बनाउने तयारी गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेता डा. शेखर कोइरालालाई हस्तलिखित सहमति गराएर गठबन्धन कायमै रहेको सन्देश दिन खोजे पनि मुख्यमन्त्री कार्कीले एमालेलाई सत्ता सहयात्री नै बनाउने तयारी थालेका छन् । मुख्यमन्त्री कार्कीले काठमाडौं पुगेर नेता डा. शेखर कोइराला र एमाले अध्यक्ष ओलीलाई भेटेका थिए ।

सत्तारुढ गठबन्धनले कोशीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कार्कीले विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख कार्यालयमा बहुमत सांसदले सनाखत गरेपछि उनी मुख्यमन्त्री बनेका छन् । अहिले आएर प्रधानमन्त्री प्रचण्डले कार्की नै सत्तारुढ गठबन्धनका मुख्यमन्त्री रहेका अभिव्यक्ति दिइरहेका छन् ।

मुख्यमन्त्री कार्कीले एमालेबाट राम राना र एकराज कार्कीलाई मन्त्री नियुक्त गर्ने स्रोतले जनाएको छ । विद्रोही कांग्रेसबाट शम्शेर राई मन्त्री बन्नेछन् ।

मुख्यमन्त्री कार्की गठबन्धनकै भएको भनिए पनि सरकारमा संस्थापन कांग्रेस, माओवादी, एकीकृत समाजवादी कुनै पनि दलको सहभागिता नहुने स्रोतले जनाएको छ ।

सम्बन्धित
Loading...