अब झलारीमै फार्मेसीको पढाइ हुने, शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको फाइल आयोगमा

धनगढी । कञ्चनपुरको झलारीस्थित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा अब डिप्लोमा इन फार्मेसी कार्यक्रमको पठनपाठन हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ४० विद्यार्थीको सिट संख्या निर्धारण गर्न चिकित्सा शिक्षा आयोगमा पत्राचार गरेको छ । आयोगले कोटा निर्धारण गरेपछि भर्नाका लागि बाटो खुल्नेछ ।

सीटीईभीटीले पूर्वाधार निरीक्षण प्रतिवेदनसहित आयोगमा फाइल पठाएको हो । यसअघि शिक्षालयमा अन्य प्राविधिक विषयको पठनपाठन हुँदै आएको छ ।

झलारीमा फार्मेसी पढाइ हुने भएपछि खुसी व्यक्त गर्दै नेकपा एमालेका युवा नेता अर्जुन भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खुशीको खबर ! पूर्व माननीय नरबहादुर धामीज्यूको विशेष पहलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय झलारीमा यसै वर्ष २०८०/८१ मा डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन हुने सम्पूर्णमा हार्दिक जानकारी गराउँदछौं ।’

तत्कालीन सांसद धामीको कार्यकालमा झलारीमा शिक्षालय स्थापना भएको थियो । शिक्षालयमा सिभिल इन्जिनीयरिङ, मेकानिकल इन्जिनीयरिङ र अटोमोबाइल इन्जिनीयरिङको पढाइ हुँदै आएको छ । शिक्षालयले छोटो अवधिका सीपमूलक तालिम समेत दिने गरेको छ ।

सम्बन्धित
Loading...