शुक्लाफाँटामा नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कारबाही, १५ हजारका दरले जरिवाना

झलारी । शुक्लाफाँटा नगरपालिकाले खोलाहरूमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार गर्ने सवारीसाधनलाई कारबाही गरेको छ ।

नगरपालिकाले वडा नम्बर ८ स्थित गौडी खोला र धारापानी खोलामा ढुंगा उत्खनन् तथा ओसारपसार गर्ने ४ वटा ट्याक्टरलाई जरिवाना गरेको छ ।

बुधबार गौडी खोलाबाट से१त ७५१७ र से१त २१७३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको थियो भने बिहीबार धारापानी खोलाबाट म१त ११९१ र से१त ४४१७ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको थियो । नगरपालिकाले प्रतिट्याक्टर १५ हजारका दरले कारबाही गरिएको नगर प्रमुख (मेयर) रणबहादुर महराले बताए ।

‘नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा प्रतिबन्ध लगाएका छौं,’ उनले भने, ‘यस्ता कार्यमा संलग्नहरूलाई कारबाही गरेका छौं, सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०८० अनुसार कारबाही गरेका हौं ।’

सुदूरपश्चिम प्रदेश आर्थिक ऐन अनुसार नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार गरेमा ट्याक्टरलाई १५ हजार, मिनी ट्रकलाई २० हजार, टिप्पर वा ट्रकलाई ३० हजार र स्काभेटर वा ब्याकलोडरलाई ५० हजार जरिवाना गर्ने व्यवस्था छ ।

नगरपालिकाले खोला तथा नदीहरूको ठेक्का लगाउने तयारी गरेको छ । ठेक्का नहुँदासम्मका लागि नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

सम्बन्धित
Loading...