केपी ओलीले विधि विपरीत काम गरेको नेकपा स्थायी कमिटी बैठकको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले विधि विपरीत काम गरेको निर्णय गरेको छ ।

यसअघिको स्थायी कमिटी बैठकले अर्काे बैठकको मिति निर्धारण गरेकोमा सहमति विपरीत अध्यक्षले बैठक स्थगित गर्ने सूचना प्रेषित गर्नु विधि विपरीत भएको बैठकले निर्णय गरेको छ ।

बैठकका निर्णय सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘आजको स्थायी कमिटीको बैठकको मिति र समय यसअघिको स्थायी कमिटीको बैठकले नै निर्णय गरेको थियो । जारी रहेको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधि विपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन ।’

पार्टीभित्र देखिएको विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी ओलीसँग छलफल गरी बैठक सञ्चालन गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय समेत गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । ‘पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्धतिसम्मत ढंगले अगाडि बढाउन, पार्टीको संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्‍याउन पार्टीका सबै नेता, कार्यकर्तालाई बैठकले आह्वान गरेको छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सहमति विना नै सञ्चालन भएको स्थायी कमिटी बैठकमा २९ जना स्थायी कमिटी सदस्यको सहभागिता रहेको श्रेष्ठले बताउनुभयो । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद बढ्दै गएको छ ।

नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएकोमा मंगलबार प्रचण्ड–नेकपा समूहले एकलौटी रुपमा बहुमत देखाउँदै बैठक चलाएको छ । बैठक अर्काे सूचना जारी नआएसम्म अनिश्चितकालका लागि स्थगित भएको छ ।

सम्बन्धित
Loading...