काठमाडौं । संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरू, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाले स्वागत गरेका छन् ।
उनलाई चीनको सिचुवान प्रान्तका उपगभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्च पदस्थ अधिकारीले छेन्दु विमानस्थलमा बिदाइ गरेका थिए ।
उनी ८ दिने चीन भ्रमणका लागि अमेरिकाको न्युयोर्कबाट सिधै चीन गएका थिए । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए । संयुक्त राष्ट्रसंघको मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलन लगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अरु देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता गरेका छन् । भेटवार्तामा २ देशबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।