काठमाडौं । सल्यानको छत्रेश्वरीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा धेरै घाइते भएका छन् ।
शुक्रबार राति छत्रेश्वरी गाउँपालिका–५ तीर्थपोलेमा लु१ज १८६१ नम्बरको जीप दुर्घटना हुँदा सल्यानकै शारदा नगरपालिका–१२ तिमिलेकी अन्दाजी ७५ वर्षीया ध्रुवी बोहरा र शारदा–१५ बरलाकी ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट शारदा नगरपालिका–१२ कागखोलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर सडकबाट करीब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा शारदा नगरपालिका–१ चैवाङज्यूलाका जीप चालक २१ वर्षीय रविन बुढाथोकी, शारदा १२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, सोही वडाकी ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका–५ की २४ वर्षीया निर्मला बस्नेत, शारदा–१२ की लक्ष्मी खड्का घाइते भएका छन् ।
शारदा–१४ की २४ वर्षीया निरु कुँवर, शारदा–१२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षकी हीमा ओली, २५ वर्षकी टीका बोहरा, १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी, शारदा १३ की ७५ वर्षीया जिउली बोहरा पनि घाइते भएका छन् ।
घाइतेको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।