गोकुल बाँस्कोटा नै ओली सरकारका हर्कतविरुद्ध खुलेरै विरोधमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै निकट मानिने पूर्व सञ्चारमन्त्री तथा सांसद गोकुल बाँस्कोटा सरकारका हर्कतविरुद्ध खुलेरै विरोधमा उत्रिनुभएको छ ।

सरकारमा मन्त्री हुँदा प्रवक्ताको हैसियतमा सरकारको प्रतिरक्षा गर्ने र खासगरी प्रधानमन्त्री ओलीको बचाउमा जोडबल गर्ने नेता बाँस्कोटा यसपालि चाहिँ सरकारको विरोधमा बोल्नुभएको छ ।

सरकारले लकडाउन अन्त्य गरेपनि एक जिल्लाबाट अर्काे जिल्ला सवारीसाधन प्रवेश गर्न दिएको छैन । सरकारले लामो दूरीका सवारीसाधन भदौ १ गतेदेखि मात्रै सञ्चालन गर्न दिने भनेको छ ।

हाल सवारीसाधन जिल्लाभित्र मात्रै चलिरहेका छन् । जसले गर्दा लामो दूरीमा यात्रा गर्नुपर्ने यात्रुले एक जिल्लाको सीमामा गाडीबाट ओर्लेर अर्काे जिल्लामा सीमाबाट फेरि गाडी चढ्नुपर्ने बाध्यता छ । यस्तो गर्दा जनतालाई सास्ती भएको भन्दै नेता बाँस्कोटाले नै विरोध गर्नुभएको छ ।

आईतबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले भन्नुभएको छ, ‘गृह मन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिँडाउने फेरि अर्काे बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’

गृह मन्त्रालयले सरकारको निर्णय अनुसार जिल्लाभित्रै मात्र यातायात सञ्चालन गर्न दिएको छ । कोरोना भाइरस रोकथामका लागि भन्दै ओली सरकारले लामो दूरीका यातायात सञ्चालन गर्न नदिए पनि बाँस्कोटाले भने जिल्लाको सीमामा यात्रु ओराल्ने बेकारको काम तत्काल हटाउन माग गर्नुभएको छ ।

सम्बन्धित
Loading...