ओलीलाई भेटेलगत्तै एकाएक यसरी किन सन्किए प्रचण्ड ?

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार बिहान बालुवाटार पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे ।

त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे । त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए ।

दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे । यसले नेकपामा किचलो कायमै रहेको देखाएको छ । दाहाल र नेपाल दुवैजना ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए । दुवै नेता नेकपाका अर्का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवसमा ललितपुरको कुम्भेश्वरमा आयोजित कार्यक्रममा पनि सँगै थिए ।

दाहाल र नेपालले असार १६ गतेयता ओलीको राजीनामा माग गर्दै आएका छन् । गत शनिवारको सचिवालय बैठकमा ओलीले गरेको पार्टी एकताको महाधिवेशन मंसिरमै गर्ने प्रस्तावमा भने दाहाल सकारात्मक देखिएका थिए । त्यसले नेपालसँगको सम्बन्धमा अविश्वास पैदा गरेको थियो ।

दाहाल र नेपालले शुक्रवार भने प्रधानमन्त्री ओलीले आफूलाई मात्र राष्ट्रवादी देखाउन खोजेको, पार्टीको सामूहिक निर्णय नमानी पार्टीको अधीनस्थ सरकार सञ्चालन गर्ने कम्युनिस्ट पार्टीको बाटोविपरीत हिँड्न थालेको आरोप लगाए । ‘तथाकथित एकताको माला जपेर एकता हुने होइन,’ दाहालले भने, ‘संघर्षबाट एकता मात्रै प्राप्त हुन्छ भन्ने जरुरी छैन । एकता संघर्ष र रूपान्तरण, नयाँ आधारमा नयाँ एकता हासिल गर्ने विधि पद्धति र सोच अवलम्बन गर्नुपर्छ ।’

उनले विधानतः ६/६ महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक बोलाउनै दुई वर्ष लागेको बताए । ‘समस्या आउँदा सामूहिक छलफल गर्ने, छलफलका आधारमा निस्कने निचोडको पालना गर्नुपर्ने हो । बैठक नै नबसेपछि सामूहिक छलफल र निष्कर्ष भन्ने भएन,’ उनले भने, ‘दुई वर्षसम्म केन्द्रीय समिति बैठक बस्न सकेनौं । जबकि ६/६ महिनामा विधानमा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था छ । त्यसमा हामी चुक्यौं ।’

उनले कम्युनिस्टमा पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने सैद्धान्तिक मान्यता रहेको बताए । तर अहिले सत्ताको अधीनस्थ पार्टी हो कि भन्ने खतरा देखा पर्न थालेको उनको भनाइ थियो । उनले सरकारका काममा शृंखलाबद्ध रूपमा प्रश्न उठेको बताए । कालापानी लिपुलेक र लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गर्ने विषय पार्टीको सामूहिक निर्णयका आधारमा भए पनि त्यसलाई ‘कुनै व्यक्तिको मात्र खल्तीमा हाल्ने प्रयास’ भएको भन्दै उनले असन्तुष्टि पोखे ।

‘पार्टीभित्र नक्साको विषय उठ्यो । भारतले नेपालको भू–भाग समेतलाई गाभेर नक्सा निकाल्यो । म त्यतिबेला जे भए पनि कार्यकारीका रूपमा स्थायी समिति बैठकको अध्यक्षता गर्दै थिएँ । भारतले हाम्रो भूमि मिचेर नक्सा निकालेको छ, त्यो बिल्कुल गलत भएको छ । स्थायी समिति बैठकबाट तुरुन्तै नक्सा प्रकाशन गर्नुपर्छ भनेर निर्णय गर्‍यौं । तर सरकारले नक्सा निकाल्नेभन्दा भूमि नै फिर्ता गर्ने कुरा गरेको सायद तपाईंहरूले सुन्नुभयो होला,’ उनले भने, ‘माघमा बसेको केन्द्रीय समिति बैठकमा पनि नक्सा छिटो प्रकाशन गर्नुपर्‍यो भन्ने प्रस्ताव पारित भयो र त्यो नक्सा छिटो प्रकाशन गर्न सरकारलाई सुझाव दिइयो । तर अन्तिममा आउँदासम्म नक्सा प्रकाशनको तयारी भएको देखिएन । अन्तिममा नीति तथा कार्यक्रम सम्बन्धमा राष्ट्रपतिको सम्बोधन हुने दिनमा बिहान एकैछिन बसेको सचिवालय बैठकमा हामीले नक्सा प्रकाशन गर्ने कुरा नीति तथा कार्यक्रममा राख्नैपर्छ भन्यौं र अन्तिममा प्रधानमन्त्री पनि त्यसमा सहमत हुनुभयो र त्यहीबाट मुख्य सचिवलाई फोन गरेर यो भाषा थप्न पर्‍यो भनेर थपेर प्रेसमा छापिएको हो । नक्सा सार्वजनिक गर्ने कुरा बैठकबाट पारित गरिएको हो ।’

पार्टी अहिले संकटमा रहेको भन्दै उनले त्यसको समाधान गर्ने, पार्टी एकता बचाइराख्ने विषय प्रमुख भएको बताए । उनले पार्टीभित्रको सामूहिक छलफल र निर्णय प्रक्रियालाई विश्वास नगरी व्यक्तिगत फैसलालाई नै सर्वाेपरी ठान्ने काम कसैले गरे एकतालाई निरन्तर गति दिन र विकसित गर्न सम्भव नहुने चेतावनी दिए । पार्टीभित्र देखा परेको अहिलेको समस्या पदको लुछाचुँडी र झगडा नभएको पनि दाहालको प्रस्टोक्ति थियो ।

‘कता–कता पदका निम्ति झगडा, लुछाचुँडी हो कि भन्ने देखिएको छ, त्यो वास्तवमा सच्याउनै पर्ने भएको छ । विचार, विधि, पद्धति र समाजवादी अर्थतन्त्र, राजनीति, संरचना, संस्कृति कस्तो हुने भन्ने बहस हो,’ उनले भने, ‘यो कार्यकर्तामा लान जसरी सक्नुपर्ने थियो, लानुपर्छ । विचारकै बहस हो । व्यक्तिमा पदमा जाने को भन्ने मुख्य होइन । विचारसँग जोडिएर नेतृत्व पनि आउँछ नै ।’

उनले अहिलेको संघर्षले झन् पार्टीलाई एकताबद्ध, विचार र विधि केन्द्रित पार्टी बनाउने बताए । ‘अहिले कुनै स्थितिमा पार्टी विभाजन रोक्ने अन्तिम समयसम्म प्रयास गर्दैछौं र पार्टी विभाजन हुन दिइने छैन, यो विश्वास पनि दिलाउन चाहन्छौं । पार्टीलाई एकताबद्ध राखिने, विचार केन्द्रित र विधि पद्धतिमा चल्ने पार्टी बनाइने छ । विचार अझ स्पष्ट भएर आउनेछ, विधि पालना गर्ने स्पष्ट भएर आउनेछ । कोही आत्तिनु पर्दैन,’ उनले भने ।

उनले पार्टीभित्र वैचारिक राजनीतिक बहसको विषय खुल्ला भई नसकेको बताए । ‘हामीले पार्टी एकता गर्ने बेलामा जनताको बहुदलीय जनवादलाई निषेध गर्ने काम गरेका छैनौं, माओवादीको १० वर्षे जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादलाई निषेध गर्ने काम गरेका छैनौं, दुवैका उच्च मूल्यांकन गरिएको छ । मदन भण्डारीको राजनीतिक योगदान र गतिशीलतालाई उच्च मूल्यांकन नै गरिएको छ । तर अब पार्टी एकता गर्दा जनताको जनवादलाई विकसित र परिष्कृत गर्नुपर्छ भनिएको छ,’ उनले भने, ‘अब मैले माओवाद र एक्काइसौं शताब्दीको जनवाद र अर्काेले जनताको बहुदलीय जनवाद जिन्दावाद भन्न थाल्यौं भने हामीले पार्टी एकता गरेको ठहरिँदैन । हामी कहीँ न कहीँ विभाजनतिर जान खोज्दैछौं । विचार, भावना र संवेदनशीलतालाई हामीले सम्बोधन गर्नेतिर होइन, भन्नेतिर देखिन्छ । अहिले जुलुस ननिकालौं, हामी पार्टीमा एकताकै निम्ति छलफल गरिरहेका छौं, हामीले त्योभन्दा बाहिर गएर गर्नु उचित छैन ।’

नेपालले कसैले चाहेर पनि कम्युनिस्ट पार्टीलाई बिर्सजनको अवस्थामा पुर्‍याउन नसक्ने बताए । पार्टी, नेता, कार्यकर्तालाई निरास बनाएर, कसैको दास भएर र टाउको समाएर नियति यस्तै हो भनेर बस्न नपर्ने भन्दै आन्दोलनको निम्ति व्यक्ति महत्त्वपूर्ण नहुने उनको भनाइ थियो ।

उनले कुनै पनि व्यक्ति सर्वोपरी नभएको भन्दै अहंकारबाट मुक्त नभए पार्टी होइन व्यक्ति नै पतन हुनेसम्मको आक्रोश पोखे । ‘म नै सर्वाेपरी भनेर आफैंलाई सर्वाेपरी ठान्न थालियो भने आफूबाहेक दुनियाँमा कसैको केही लाग्दैन भन्ने ठानियो भने र त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्तिको पतन हुने बाहेक, त्यो प्रवृत्तिको पतन हुने बाहेक अर्काे केही हुन सक्दैन,’ उनले भने ।

उनले पार्टीभित्रका कुनै व्यक्तिमा अझै पनि म नै सर्वाेपरी हुँ भन्ने विचार प्रवृत्ति छन् भने समय छँदै त्यसबाट उम्किन र बच्न आग्रह गरे । उनले आफू सँगसँगै आन्दोलनलाई समाप्त पार्ने त्यस्तो मुर्खतापूर्ण काम कसैबाट नहोस् भन्ने आफ्नो शुभेच्छा रहेको बताए । ‘तपाईंहरूलाई चिन्ता होला कम्युनिस्ट पार्टी फुट्छ कि भनेर फुट्दैन, कसैले चोइटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिस्ट पार्टी फुटेर जानेवाला छैन । तर हामीमध्ये केही व्यक्तिहरू कस्ता छौं भने कसैले भन्देला, पत्रपत्रिकामा आइहालेमा डरले थरथर—थरथर काम्न थाल्छौं । थर्किनुपर्ने केही आवश्यकता छैन । आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने काम हामीले गरेका छौं र गर्न सक्छौं भन्ने आत्मविश्वास छ,’ उनले भने ।

कम्युनिस्ट आन्दोलनमा गरिएको त्याग, बलिदान र तपस्यालाई कसैले पनि भुल्न नहुने उनको भनाइ थियो । ‘सत्तामा पुगेपछि बिर्सिन्छौं भने यो आन्दोलन बिसर्जनबाहेक कुनै परिणामतिर जाने छैन । त्याग, बलिदान, तपस्या भुल्यौं भने । पार्टीभित्रको समस्या बसेर हामीले हल गर्न खोजिरहेका छौं । हाम्रा निम्ति व्यक्ति प्रमुख कुरा होइन, विधि प्रमुख कुरा हो । नीति प्रमुख कुरा हो,’ उनले भने, ‘यो विधि पद्धतिको आधारमा सामूहिक निर्णय गर्ने र सबैले परिपालन गर्ने लेनिनवादी सिद्धान्त हो । बहुमतको निर्णय सबैले मान्नुपर्छ । म मान्दिनँ, म मान्न बाध्य छैन, आदि इत्यादि भन्न कसैले पनि छुट पाउँदैन । मलाई लाग्छ फेरि पनि बुद्धि सबैमा पलाउनेछ ।’

उनले ओलीप्रति संकेत गर्दै भने, ‘आफूलाई अपरिहार्य नठानौं र सबैको बुद्धि, खुबी, क्षमता र आआफ्नो भूमिकालाई साथ लिएर अगाडि बढ्यौं भने विचारका हिसाबले उत्कृष्ट संगठनका हिसाबले उत्कृष्ट कम्युनिस्ट पार्टी हामी बन्न सक्छौं ।’

दाहाल, नेपालसहित अर्का नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । त्यसयता नेकपाको स्थायी समिति बैठक प्रभावित बन्दै आइरहेको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेख्नुभएको छ ।

सम्बन्धित
Loading...