काठमाडौं । विद्यमान गठबन्धनहरू हेर्दा कोशी प्रदेशमा कसैको पनि सरकार बन्ने अवस्था देखिँदैन । नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले यथास्थितिमा बहुमत पुर्याउन सक्ने देखिँदैन ।
यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बहुमत पुर्याउन नसकेपछि उनी सर्वाेच्च अदालतको आदेशबाट २ पटक पदमुक्त भएका थिए ।
हाल सत्तारुढ गठबन्धनमा एमाले एक्लै छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एमालेसँग नजिक हुनसक्छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । यी दुवै कित्तामा कसैको पनि बहुमत पुगिरहेको छैन ।
राप्रपाले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने सुझाव दिएको छ । तर तत्कालै ठूला २ दल मिल्ने सम्भावना देखिँदैन । यस्तै बेला एमाले र एकीकृत समाजवादी मिलेर गठबन्धन सरकार बन्ने चर्चा सुरु भएको छ ।
एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादीले फेरि एमालेसँगै मिलेर सरकार बनाउला ? हालसम्मको स्थिति हेर्दा दुवै दलको सम्बन्ध सुमधुर छैन । तैपनि राजनीतिमा असम्भव केही हुँदैन ।
नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राई र एकीकृत समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईबीच धरानमा भएको भेटले दुवै दल मिल्ने चर्चालाई बल पुर्याएको छ । दुवै नेताबीच भएको भेटमा सत्ता सहकार्यका विषयमा पनि छलफल भएको स्रोतको दाबी छ ।
‘सत्ता सहकार्य गर्दा दुवै दलले आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउने विकल्पमा पनि छलफल भएको छ,’ स्रोतले भन्यो, ‘शेरधनले राजेन्द्रसँग सरकार चलाउन सहयोग माग्नुभयो ।’
एकीकृत समाजवादीका नेता राजेन्द्रले सत्ता सहकार्यबारे नेताहरूसँग छलफल थालिसकेका छन् । उनी सत्ता सहकार्यमा सकारात्मक रहेको स्रोतको दाबी छ । तर प्रदेश सरकार बनाउन केन्द्रीय नेतृत्व अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गर्नुपर्ने हुन्छ । अध्यक्ष नेपालको निर्देशनअनुसार नै सत्ता सहकार्यको टुंगो लाग्ने स्रोतले जनाएको छ ।