महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कोरोना भाइरस संक्रमणको बेला दिएको छुटको विषयमा विशेष अदालतमा मुद्दा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर दायर गरेको मुद्दा अदालतमा विचाराधीन रहेकै बेला भीमदत्त नगरपालिकामा ‘ठूलो भ्रष्टाचार’ हुनसक्ने तथ्य बाहिरिएको छ ।
भीमदत्त नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का वडाध्यक्ष पदमराज अवस्थीले भ्रष्टाचार जस्तो कार्यमा आफ्नो सहमति नरहेको स्पष्ट पारेका छन् । उनी नेपाली कांग्रेसका नेता समेत हुन् ।
भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसकै मेयर पदम बोगटी र उपमेयर नीलम लेखक जोशी छन् । महाकाली नदीको रोयल्टी अमानतमा उठाउने कुरा ठीक नभएको भनेर पटक–पटक कार्यपालिका बैठकमा राख्दा पनि सुनुवाइ नभएपछि उनले सामाजिक सञ्जाल फेसबूकमै लेख्नुपरेको छ ।
सोमबार बिहान उनले फेसबूकमा लेखेका छन्, ‘भीमदत्त नगरपालिकामा विगतका कर्मचारीले कोरोनाको बेला (समस्या परेको बेला) कर छुट गरेर भ्रष्टाचारको मुद्दा लाग्छ भने अहिलेका कर्मचारीहरूले टेण्डर ननिकाली अमानतमा उठाउने प्रयास गर्छन् भने यो सबभन्दा ठूलो भ्रष्टाचार हो । चाडोभन्दा चाडो टेण्डर प्रक्रियामा जाँदा राम्रो । कार्यपालिका बैठकमा पटक–पटक कुरा राख्दा सुनवाइ नभएपछि अमानतमा कर उठाउने कुरामा मेरो सहमत छैन ।’
मेयर बोगटी निर्वाचित भएपछि महाकाली नदीको नदीजन्य पदार्थको रोयल्टी संकलनको ठेक्का हुन सकेको छैन । ठेक्का नहुँदा नगरपालिकाले ठूलो राजस्व गुमाउनुपरेको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा महाकाली नदीको रोयल्टी संकलनबाट करोडौं राजस्व संकलन भएको थियो ।