महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मंगलबार महाकाली नदी समेत अन्य खोलाबाट नदीजन्य पदार्थ संकलनमा रोक लगाएपछि सरोकारवालाले समस्या समाधानको अपेक्षा राखेका बेला प्रमुख प्रशासकीय अधिकृत (हाकिम सा’प) याम नारायण गौली लामो बिदा लिएर घुमफिरमा निस्किएका छन् ।
नदीजन्य पदार्थ संकलनमा रोक लगाएको सूचना प्रकाशित गरेको भोलिपल्टै उनी १० दिने बिदा लिएर भारततिर लागेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गौली १० दिने बिदा लिएर निजी काममा भारत गएका नगर कार्यपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए । उनी बिदामा हुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नरेन्द्रप्रसाद जोशीलाई दिइएको छ ।
नदीजन्य पदार्थ संकलनमा रोक लगाउँदा निर्माण व्यवसायीदेखि सर्वसाधारण मर्कामा परेका छन् । सरोकारवालाको समस्या समाधान गर्न छाडेर प्रमुख प्रशासकीय अधिकृत गौली भ्रमणमा गएपछि आलोचना हुन थालेको छ ।
लामो बिदाबारे गौलीको प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।