भीमदत्त नगरपालिकामा तालाबन्दी गर्ने निर्माण व्यवसायी संघको चेतावनी

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले भीमदत्त नगरपालिकाले महाकाली नदीमा नदीजन्य पदार्थ संकलन छिटोभन्दा छिटो खुला नगरे तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष निरञ्जनप्रसाद भट्टले पत्रकार डिल्लीराज पन्तलाई भिडियो अन्तर्वार्ता दिँदै नदीजन्य पदार्थ संकलनमा रोक लगाउँदा निर्माण व्यवसायी मर्कामा परेका बताए ।

नगरपालिकाले सूचना प्रकाशित गरेर नगर क्षेत्रभित्रका नदी र खोलाबाट नदीजन्य पदार्थ संकलनमा अनिश्चितकालका लागि रोक लगाएको छ । अध्यक्ष भट्टले भने, ‘जुन विज्ञप्ति आएको छ, नगर प्रमुख लगायत पदाधिकारीलाई विज्ञप्तिको साटो मन्त्रालयमा कता गएर हुन्छ, आईईई रिपोर्ट ल्याएर घाट खोल्न अनुरोध गर्छु । यदि छिटोभन्दा छिटो ठेक्का आह्वान गर्नुभएन भने निर्माण व्यवसायी संघले नगरपालिकामा ताला समेत लगाउने अनुरोध गर्छु ।’

नगरपालिकाले असोज १ गतेभित्र रोयल्टी ठेक्का लगाएर सम्झौता गरिसक्नुपर्ने प्रावधान रहेको उनले बताए । नदीजन्य पदार्थ संकलनमा रोक लगाउँदा निर्माण सामग्रीको मूल्य आकाशिएर ४ हजार पर्ने बालुवाको ८ हजार तिर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘निर्माण व्यवसायीलाई भार परेको छ, यसबारे निर्माण व्यवसायी संघले भीमदत्त नगरपालिकालाई बेलाबेलामा लिखित मौखिक रूपमा भन्दै आएको हो,’ उनले भने, ‘जनप्रतिनिधि भएर डेढ वर्ष हुँदा पनि ठेक्का गर्न नसक्नु गैरजिम्मेवारी छ । घाट बन्द गर्नु र अमानतमा रोयल्टी उठाउनु भ्रष्टाचारमा लिप्त हुनु हो ।’

निर्माण सामग्री संकलन गर्न नपाउँदा समयमा काम नहुने उनले बताए । ‘यसरी निर्माण व्यवसायीको काम समयमा हुँदैन, यो निर्माण व्यवसायी धरापमा पर्नु हो,’ उनले भने ।

निर्माण व्यवसायी संघले तालाबन्दीको चेतावनी दिइरहेका बेला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत १० दिने भारत भ्रमणमा गएका छन् । नदी र खोला बन्द गरेको सूचना निकालेको भोलिपल्टै उनी भारततिर गएका हुन् ।

सुन्नुहोस् भिडियो कुराकानी –

सम्बन्धित
Loading...