काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बढ्दै गइरहेको विवादबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खुला प्रहार गर्नुभएको छ ।
सार्वजनिक कार्यक्रममा ओलीविरुद्ध खासै नबोल्ने अध्यक्ष प्रचण्डले शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीमाथि प्रहार गर्नुभएको हो ।
प्रचण्डले ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको खुलासा गर्नुभएको छ । नेकपा एकता नसकिँदै ओलीले एमाले दल दर्ता गर्न लगाउनुभएकोबारे थप स्पष्ट पार्दै प्रचण्डले भन्नुभयो, ‘पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’
प्रधानमन्त्री ओलीतिर संकेत गर्दै प्रचण्डले पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्तालाई जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको समेत स्मरण गराउनुभयो ।
अध्यक्ष प्रचण्डले नेताहरूबीच चोचोमोचो मिलाएर मात्र पार्टी एकता नहुने बताउनुभयो । ‘संघर्ष र बहसभन्दा बाहिर एकताको तथाकथित माला जपेर हुँदैन,’ उहाँले भन्नुभयो, ‘नेकपामा विगतदेखि नै विचार एउटाको र नेतृत्व अर्कोको हुने गरेको अवस्था अहिले पनि देखिएको छ । विचार र सिद्धान्त पुष्पलालको हुने, नेतृत्व त्यो विरोधी मान्छे (केशरजंग रायमाझी) को हुने अवस्था थियो । अहिले पनि त्यस्तै नेता भोगेको हो नि ! समस्याको चुरो यतै छ कि भनेर हेर्न जरुरी छ ।’
एकता, संघर्ष, रूपान्तरण र नयाँ आधारमा एकता गर्ने कम्युनिस्ट आन्दोलनको विशेषता भएको उहाँले बताउनुभयो । ‘सच्चा कम्युनिस्ट पार्टीको नेताले लिने एकता, संघर्ष र रूपान्तरण हो । त्यसका आधारमा नयाँ एकता गर्ने हो । यसो नहुँदा कम्युनिस्ट आन्दोलनमा फुट आएको छ, विश्वले धेरै देखेको छ, आदर्शवादी भ्रममा हुनुपर्ने देखेको छैन,’ उहाँले भन्नुभयो ।