कोशी प्रदेशमा एमालेको सरकार फर्कियो, मुख्यमन्त्री कार्कीसहित ५ सदस्यीय मन्त्रिपरिषद्

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेको सरकार फर्किएको छ ।

यसअघि नै मुख्यमन्त्रीको कामकाज सम्हालिसकेका कोशी प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की फेरि मुख्यमन्त्री बनेका छन् ।

उनीपछि मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत पाउन नसकेपछि फेरि कार्की नै ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका हुन् । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अनुसार ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै शुक्रबार नै मुख्यमन्त्रीको शपथ भएको छ ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले ३ मन्त्री र १ राज्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, खोटाङका सांसद पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरणमन्त्री र झापाका सांसद एकराज कार्कीलाई भौतिक पूर्वाधार विकासमन्त्री र भोजपुरका समानुपातिक सांसद सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्री बनाएका छन् ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित दलको नयाँ सत्ता समीकरण बनेपछि नेकपा एमाले देशैभर प्रतिपक्षमा पुगेको थियो । तर शुक्रबारदेखि एमाले कोशी प्रदेशमा सत्तारुढ दल बनेको छ ।

सम्बन्धित
Loading...