काठमाडौं । भारतले कब्जा गरेको नेपाली भूमि फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहल नगरेको भन्दै सत्तारुढ नेकपाका सांसद भीम रावलले गम्भीर प्रश्न उठाउनुभएको छ ।
बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै सांसद रावल लगायतले लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्याबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोलाएर संसदीय समितिमा छलफल गर्न माग गर्नुभएको छ ।
छलफलमा सहभागी सांसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्शामा समेटिए पनि भारतीय फौज नेपाली भूमिबाट नहटेकाले परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग राखेका छन् ।
सांसद रावलले तत्काल सीमाबारे भारतसँगको संवादका सन्दर्भमा के प्रगति भएको छ भनेर परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग गर्नुभयो । भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीले सीमामा नेपालीमाथि आक्रमण गरिरहेको, भारतीय बाँधले नेपाली भूभाग डुबानमा पर्दा पनि भारतीय पक्ष वार्तामा बस्न तयार नभएको र कालापानीबारे भारत मौन रहेको विषयमा समिति चुप लागेर बस्न नहुने सांसद रावलको माग छ ।
नेपाली प्रस्ताव भारतले अस्वीकार गर्ने गरेको बताउनुहुँदै सांसद रावलले भारतले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन नबुझेको विषयलाई गम्भीरतापूर्वक लिएर छलफल चलाउनुपर्ने बताउनुभयो ।
ईपीजीले तयार पारेको प्रतिवेदन लामो समयसम्म समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न अस्वीकार गर्दा हालसम्म सार्वजनिक हुनसकेको छैन । प्रतिवेदन भारतीय प्रधानमन्त्रीले पहिले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति भएकाले अलपत्र परेको छ ।
सरकारले राष्ट्रवादका चर्का नारा लगाउने गरे पनि नेपाली भूमि फिर्ता गर्न प्रभावकारी काम गर्न नसकेको विषय सत्तारुढ सांसदले नै उठाउन थालेका छन् ।