काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले थप आदेश दिएको छ ।
अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आज बिहीबार फेरि आदेश दिएको छ ।
आज बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो । यसअघि प्रमाणीकरण गरिएको भए पनि इजलासले फेरि गाउँपालिकाबाट प्रमाणीकरण गराउन आदेश दिएको छ ।
यसअघि गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडित गौशाला २६ की आमाको उमेर यकिन गर्ने आदेश गरेको थियो ।
त्यसपछि भदौ १० गते नै मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यसदिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेशी तोकिएको थियो । पेशी सरेपछि लामिछाने भदौ ११ गते नै एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका थिए ।