काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले पीडित बालिका र उनकी आमाको जन्ममिति यकिन गर्न आदेश गरेको छ ।
अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले पीडित बालिकासँगै उनकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले जानकारी दिए ।
‘पीडित बालिका र आमाको २ वटा जन्ममिति देखिएकाले यकिन गर्न आदेश आएको छ,’ उनले भने ।
बालिकाका पक्षबाट पेश भएको कागजातमा बालिकाको जन्ममिति २०६२ जेठ उल्लेख छ । सन्दीप पक्षका कानून व्यवसायीले २०६१ जेठ भनेर अर्को कागज पेश गरेका छन् । अदालतले जन्ममिति यकिन गर्न वडा कार्यालयलाई आदेश दिएको छ ।
बसाइँसराइँ सम्बन्धी कागजमा पीडित बालिकाकी आमाको जन्ममिति पनि फरक देखिएको छ । बालिकाकी आमाको जन्ममिति २०५३ साल देखिएको छ । बसाइँसराइँको कागजमा आमा र बालिकाको उमेरमा १० वर्ष मात्रै फरक देखिएकाले यकिन गर्न आदेश आएको जनाइएको छ ।
मुद्दामा निरन्तर सुनुवाइ गर्ने भनिए पनि जन्ममिति यकिन नहुँदा निरन्तर सुनुवाइ प्रभावित भएको छ ।