काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयनपछि भइरहेको नकारात्मक प्रचारबाजीबाट पार्टी पंक्ति तरंगित हुनु नपर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै रिजालले हल्लाबाट एमाले पंक्ति कत्ति पनि प्रभावित र विचलित हुनुपर्ने कारणै नभएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘२ वर्षअघि कांग्रेस–माओवादीको उक्साहटमा पार्टी चोइट्याइएको बेलामा पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा साथ अघि बढौं भनेर कोसिस गर्दा ‘लौ एमालेमा आन्तरिक लोकतन्त्र खत्तम भो, निरंकुशता हावी भो, केपी ओली सर्वेसर्वा भो’ भनेर स्यालहुइँया मच्चाइयो । अधिवेशन/महाधिवशेनहरूको एक चरण पूरा भएर अर्को चरण सुरु भएको बेला अहिले प्रतिस्पर्धाबाट नेतृत्व छानिँदा फेरि भनिँदैछ, ‘लौ एमालेमा खत्तम भो, अब चिरा पर्ने भो, गुटबन्दी भयो ।’
उनले अगाडि थपेका छन्, ‘तर यी हल्लाबाट एमाले पंक्ति कत्ति पनि प्रभावित र विचलित हुनुपर्ने कारणै छैन । किनभने, १. अध्यक्ष केपी शर्मा ओलीको कुशल नेतृत्व र सबै नेता–कार्यकर्ताप्रतिको समान अभिभावकीय भूमिकाका बारेमा एमालेमा कुनै प्रश्न छैन र सिंगो पंक्ति उहाँको निरन्तर नेतृत्वप्रति अटल विश्वास गर्दछ । २. हामीले अंगीकार गरेको सिद्धान्त जनताको बहुदलीय जनवादका बारेमा एमालेमा हिजो जस्तो कुनै कचमच, द्विविधा र किचलो छैन, हामी सबैको बुझाइमा एकरुपता छ । ३. जबजले अंगीकार गरेको पहदकदमी र प्रतिस्पर्धाको अभ्यासलाई एमालेले आफ्नो आन्तरिक जीवनमा आफैं लागू गरेको प्रारम्भ गरेको हो । यही भएरै हामी परम्परागत कम्युनिस्टहरुभन्दा पृथक र लोकप्रिय छौं । सम्भव भएका ठाउँमा सहमति, सम्भव भएन भने प्रतिस्पर्धा लोकतन्त्ररूपी एउटै सिक्काका दुइटा पाटा हुन् । ख्याल गरौं – हामी स्वयं बहुलवादमा विश्वास गर्छौं र हरेक ठाउँमा विविधता छ भन्ने मान्छौं । आफ्नो ठाउँको पार्टी कसरी अघि बढछ्, हामीले त्यही गर्नुपर्छ । अरुले के हल्ला गर्छन् भन्नुसँग मतलब छैन । हात्ती लम्किएपछि प्रतिक्रिया त आइहाल्छन् नि !’
लुम्बिनीमा एमालेको प्रदेश अधिवेशनले चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरेको थियो ।