एमाले प्रदेश अध्यक्षको चुनावमा रोचक नतिजा : २ मतले हारजीत, कसको कति मत ?

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेशमा भएको पहिलो प्रदेश अधिवेशनबाट अध्यक्ष पदमा रोचक नतिजा आएको छ ।

प्रदेश कमिटी अध्यक्ष पदमा राधाकृष्ण कंडेल २ मतले निर्वाचित भएका छन् ।

मंगलबार दिउँसो मतदान भई राति सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदका उम्मेदवारद्वय कंडेल र हरि रिजालबीच २ मतको हारजीत भएको छ ।

निर्वाचित कंंडेलले ४७९ मत प्राप्त गरेका छन् भने रिजालले ४७७ मत पाएका निर्वाचन समितिका सदस्य भरत पोखरेलले बताए ।

निर्वाचित कंडेल केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने पराजित रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।

उपाध्यक्ष पदमा कंडेल प्यानलबाट उम्मेदवार बनेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । रुपन्देहीका श्रेष्ठले ४५५ मत ल्याउँदा रिजाल प्यानबाट उम्मेदवार बनेका रुपन्देहीकै विश्वराज बराल ‘अनुप’ले ३०६ मत पाएका छन् ।

सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका थिए । उपसचिवमा पुरुषतर्फ रोल्पाका पूर्ण बुढा मगर निर्वाचित भएका छन् । रिजाल प्यानलका बुढा ४१८ मतसहित विजयी भएका छन् भने कंडेल प्यानलका बाँकेका दुर्गाप्रसाद थारुले ३९३ मत ल्याएर पराजित भएका छन् ।

उपसचिव महिलातर्फ कंडेल प्यानलका बर्दियाका लिला राना मगर १ मतले निर्वाचित भएका छन् । ३५१ मत ल्याएर राना निर्वाचित हुँदा बाँकेकी बसन्ती अधिकारीले ३५० मत पाएकी छन् ।

लेखा समिति अध्यक्षमा कंडेल प्यानलका दामोदर घिमिरे विजयी भएका छन् । १००४ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो ।

सम्बन्धित
Loading...