काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बिहीवार एक प्रस्टीकरण सार्वजनिक गर्दै स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ अध्यक्ष प्रचण्डलाई सघाउँदै आउनुभएको स्पष्ट पारेको छ ।
केही सञ्चारमाध्यममा भ्रामक समाचार आएको जनाउँदै प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले नेताहरूमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय भएका जनाउनुभएको छ ।
‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएको भ्रामक प्रचारहरूलाई खारेज गर्दछौं,’ प्रस्टीकरणमा उल्लेख छ ।
केही दिनअघि स्वयं प्रभाकरले नै सामाजिक सञ्जालमा लेख्दै आफू एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको थियो ।
