महेन्द्रनगर । पतंजलि योग समिति कञ्चनपुरले आवासीय योग प्रशिक्षण सम्पन्न गरेलगत्तै उपलब्धि देखिन थालेको छ ।
प्रशिक्षणमा सहभागी भएका योग शिक्षकहरूको सक्रियतामा भीमदत्त नगरपालिकाको गोवरैयास्थित निङ्गलाशैनी योग साधना केन्द्रले बुधवारदेखि ‘आजीवन’ योग शिविर शुरू गरेको छ ।
निङ्गलाशैनी योग साधना केन्द्रका संयोजक शेरबहादुर चन्दको सभापतित्वमा भएको शिविर उद्घाटन कार्यक्रममा पतंजलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्ट प्रमुख अतिथि रहेका थिए । शिविरको मुख्य प्रशिक्षकमा प्रेमसिंह भाट रहेका छन् ।
शिविरमा भीमदत्त नगरपालिकाका ४, १५ र १८ नम्बर वडाका वासिन्दाले सहभागिता जनाउन पायक पर्ने मुख्य प्रशिक्षक प्रेमसिंह भाटले जानकारी दिए ।
पहिलो दिनको योग शिविरमा डेढ सय जना योग साधकको सहभागिता रहेको केन्द्रीय सदस्य भट्टले जानकारी दिए । यसअघि गोवरैया क्षेत्रका योग साधकले नियमित योग गर्न महेन्द्रनगर बजार क्षेत्रमा पुग्नुपर्ने बाध्यता थियो भने अब घरनजिकै नियमित योग गर्न पाइनेछ ।
आवासीय योग प्रशिक्षण भएको १ महिनाभित्र कञ्चनपुरका ३० भन्दा बढी ठाउँमा नियमित योग शिविर सञ्चालन गर्ने लक्ष्य रहेको भट्टले बताए । उनका अनुसार अब लगत्तै बाल अनाथालय महेन्द्रनगर, सिद्धनाथ मन्दिर महेन्द्रनगर, सुडाको राधाकृष्ण मन्दिर, भाँसीको शिव मन्दिर, जिल्ला आयुर्वेद कार्यालय भवन, शिव ज्ञानेश्वर विद्यालय भगतपुरमा पनि नियमित योग शिविर सञ्चालनको तयारी भइरहेको छ ।
केही दिनअघि पतंजलि योग समिति कञ्चनपुरले मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रको नेतृत्वमा आवासीय योग प्रशिक्षण कार्यक्रम गरेको थियो ।