शुक्लाफाँटा नगरपालिकामा योग साधना फैलिँदै, शनिबार जिल्लाको टोलीबाट प्रशिक्षण

झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा योग साधना फैलिँदै गएको छ ।

शुक्लाफाँटा नगरपालिकाको १ नम्बर वडास्थित श्रीकृष्ण आधारभूत विद्यालयबाट कात्तिक १ गतेदेखि सुरु भएको योग प्रशिक्षण वडा कार्यालयनजिकै कभर्ड हलमा सहभागी बढाउँदै सञ्चालन भइरहेको छ ।

शनिबार पतंजलि योग समिति नेपाल, जिल्ला कार्यसमिति कञ्चनपुरबाट आएको टोलीले प्रशिक्षण दिएको छ । शनिबारको कार्यक्रममा पतंजलि योग समिति कञ्चनपुर अध्यक्ष दयाकृष्ण जोशी, महामन्त्री हरि रावल, प्रशिक्षण विभाग प्रमुख केशव पन्त, भीमदत्त नगर कार्यसमितिका उपाध्यक्ष समशेर चन्दको सहभागिता थियो ।

निःशुल्क प्रशिक्षण शिविरमा पतंजलि युवा नेपाल समिति शुक्लाफाँटा नगर अध्यक्ष केशवराज पनेरु मुख्य प्रशिक्षक र ज्ञानराज गुप्ता सहायक प्रशिक्षक रहेका छन् । शनिवारको कार्यक्रममा पतंजलि योग समिति शुक्लाफाँटा अध्यक्ष केशवदत्त अवस्थी, महामन्त्री केपी पाण्डे, मिडिया प्रभारी जयबहादुर ऐर, योग साधक कलावती भट्टको उपस्थिति थियो । हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म कभर्ड हलमा योग साधना हुँदै आएको छ ।

शनिबारको कार्यालयमा सहभागिता जनाउँदै २ नम्बर वडाका वडाध्यक्ष भोदुराम चौधरी र १२ नम्बर वडाका वडाध्यक्ष नवलसिंह रानाले छिट्टै आफ्नो वडामा पनि योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि शुक्लाफाँटा नगरपालिकाको झलारीमा मात्रै योग शिविर सञ्चालन हुँदै आएको थियो । अब केही दिनमै ११ नम्बर वडामा पनि योग प्रशिक्षण शिविर सञ्चालन हुने मुख्य प्रशिक्षक पनेरुले जानकारी दिए । ‘युवाहरू कूलतमा फसेका घटना आइरहेका छन्, वृद्धवृद्धा नहुँदा वयस्क उमेरमा थुप्रैैैैै खाले रोग देखिएका छन्, यस्ता समस्याबाट बच्न योग साधना नै स्थायी समाधान हो,’ मुख्य प्रशिक्षक पनेरुले भने, ‘पतंजलिले योगका माध्यमबाट युवालाई सही बाटोमा डोर्‍याउने र रोगमुक्त समाज बनाउने काम गर्दैछ ।’ योग अभियानमा सहभागी हुन उनले सबैमा आह्वान गरे ।

 

बन्साह कभर्ड हलमा १ नम्बर वडाको आयोजनामा योग प्रशिक्षण शिविर सञ्चालन भइरहेको छ । त्यसअघि श्रीकृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक दीपकराज भट्टको अगुवाइमा विद्यालयमा योग प्रशिक्षण शिविर सञ्चालन भएर समापन भइसकेको छ । वडाध्यक्ष उत्तरदेव भट्टले थोरै लगानीमा पनि बहुउपयोगी योग शिविर सञ्चालन गर्न सकिने बताए । पतंजलि योग समिति नेपालका सह–योग शिक्षक गणेशदत्त भट्टले प्रशिक्षण कार्यक्रम सकिएपछि पनि योग शिविरलाई नियमित सञ्चालन गर्नुपर्ने बताए ।

वडा सदस्य बलदेव अवस्थी, विद्यालय सञ्चालक भानबहादुर हमाल लगायत गाउँका अगुवाहरूले नियमित योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । योग प्रशिक्षण शिविरमा शुक्लाफाँटा बुदोकैदोका प्रशिक्षण लक्ष्मण बोहरा लगायत युवाले व्यवस्थापन गरिरहेका छन् ।

 

सम्बन्धित
Loading...