धनगढी । बझाङको सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक घरभित्रै थिइन् । सँगसँगै घरमै छोराहरु ७ वर्षीय आदित्य र ४ वर्षीय एबल पनि थिए ।
घरभित्रै रहेको बेला अकस्मात चक्कु प्रहार होला भनेर कसैले सोचेका थिएनन् । गत मंगलबार उनको घरमा फिल्मी शैलीको घटना भयो । घरमै रहेका बेला उनीसहित दुवै छोरामाथि चक्कु प्रहार भयो । तर चक्कु हान्ने मान्छे को हो र किन चक्कु हानेको हो भन्ने उनले पत्तो पाउन सकिनन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गर्दै जाँदा बझाङमा चक्कु प्रहार गरेर कैलाली पुगेका व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । घटनामा संलग्न कैलालीको कैलारी गाउँपालिका–१ का स्यानु चौधरी पक्राउ परेका छन् ।
बझाङको सदरमुकाम चैनपुरमा निर्माण कार्यमा मजदुरी गर्दै आएका चौधरीले पर्याप्त पैसा कमाउन नसकेपछि मोबाइल चोरेर पैसाको जोहो गर्ने उपाय निकालेका थिए । सुनिताका पति काठमाडौंमा रहेकाले घर उनी र छोराहरू मात्रै थिए । यस्तो अवस्थामा चौधरीले घरभित्र पसेर मोबाइल चोर्न खोजे तर त्यसक्रममा घरभित्र आवाज सुनिएपछि आफू पक्राउ पर्ने डरले उनले मान्छेमाथि चक्कु प्रहार गरे ।
भान्सामा रहेको चक्कु प्रयोग गरेर प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । भदौ ४ गते राति १२ बजेतिर घटना भएको थियो । चक्कु प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भएको छ ।
घटनापछि चौधरी भागेर कैलाली आएका थिए । प्रहरीले शंकास्पद व्यक्तिलाई अनुसन्धानको दायरमा ल्याएर चौधरीसम्म पुगेको जनाइएको छ । प्रहरीले चोरी भएको मोबाइल समेत चौधरीबाटै बरामद गरेको छ ।
मजदुरीमा ५–७ महिना काम गर्दा कमाइ नभएको र २३ हजार रुपैयाँ तिर्नुपर्ने भएपछि चौधरीले मोेबाइल चोर्ने उपाय निकालेका थिए । तर उनले मोबाइल चोरीकै कारण यतिबेला प्रहरी हिरासतमा पुग्नुपरेको छ । चौधरीमाथि डाँका चोरी र ज्यान मार्ने उद्योगमा कारबाही अघि बढ्ने प्रहरीले जानकारी दिएको छ ।